
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै कोलकाताले सिजनको पहिलो अंक पनि जोडेको छ ।
इडेन गार्डेनमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा अजिंक्य रहाणेको पहिले ब्याटिङ गर्ने निर्णय ब्याक फायर भयो । घरेलु टिम दुई ओभरभित्र नै १६ रन बनाउँदा २ विकेट गुमाएको स्थितिमा पुग्यो । पञ्जाबका जाभियर ब्राटलेटले फिन एलनलाई ६ रनमा क्याच आउट गरे । क्यामरुन ग्रिन यो खेलमा पनि चल्न सकेनन् । जारी सिजन सर्वाधिक महँगा ओभरसिज प्लेयर ग्रिन ४ रनमा पभेलियन फर्किएका थिए । उनी पनि ब्राटलेटकै बलमा आउट भएका हुन् । तीन ओभर ४ बलमा २५ रन २ विकेट हुँदा पानी परेपछि खेल रोकिएको थियो । स्थानीय समयअनुसार राति ११ बजेसम्म कुर्दा पनि खेल पुनः सुरु हुन नसकेपछि पञ्जाब र कोलकाताले अंक बाँडेका हुन् ।
योसँगै आफ्ना अघिल्ला दुई खेलमा हार बेहोरेको कोलकाताले अंकको खाता खोल्यो । श्रेयस ऐअर नेतृत्वको पञ्जाब भने अपराजित छ । उसले लगातार तेस्रो खेल जित्न सक्ने मौका गुमायो । तीन खेलबाट ५ अंक जोडेको पञ्जाब तालिकाको शीर्ष स्थानमा छ । यो खेलमा कोलकाता वरुण चक्रवती र सुनिल नरायनबिना मैदान उत्रिएको थियो । सन् २०२० यता दुवै खेलाडीबिनाको यो कोलकाताको पहिलो खेल थियो । आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।