
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को चौथो खेलमा मंगलबार साविक उपविजता पञ्जाब किंग्स र सन् २०२२ को च्याम्पियन गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दै छन् ।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरू हुनेछ । गत सिजनको फाइनलमा बैंगलुरूसँग ६ रनको झिनो अन्तरले पराजित भएपछि पञ्जाब किंग्स पहिलो पटक च्याम्पियन बन्न असफल भयो थियो ।
टोलीले यसपटक श्रेयस अय्यरको नेतृत्वमा १८ वर्षदेखिको ट्रफी खडेरी अन्त्य गर्ने लक्ष्यमा छ । कप्तान श्रेयस अय्यरसहित प्रभसिमरन सिंह र प्रियान्स आर्यले गत सिजन सानदार ब्याटिङ गरेका थिए । प्रभसिमरन र प्रियान्सको ओपनिङ जोडीले संयुक्त रूपमा १ हजार २४ रन बनाएको थियो ।
मुख्य प्रशिक्षक रिकी पोन्टिङले यस पटक टोलीको बेन्च स्ट्रेन्थ अझ बलियो रहेको दाबी गरेका छन् । यद्यपि, पञ्जाबका लागि तीव्र गतिका बलर लकी फर्गुसन भने सुरूवाती खेलमा उपलब्ध हुने छैनन् । अर्कोतर्फ, शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स पनि बलियो देखिएको छ ।
टोलीमा अस्ट्रेलियाली लिजेन्ड म्याथ्यू हेडन ब्याटिङ प्रशिक्षकका रूपमा भित्रिएका छन्, जसले टोलीको ब्याटिङलाई अझ आक्रामक बनाउने अपेक्षा गरिएको छ । गुजरातका लागि साई सुदर्शन महत्तवपूर्ण रहन सक्छन् । उनले गत सिजन ७ सय ५९ रन बनाएर 'ओरेन्ज क्याप' जितेका थिए ।
बलिङमा रासिद खान, मोहम्मद सिराज र कागिसो रबाडा जस्ता बलरहरू छन् । यी दुई टोलीबीच हालसम्म भएका ६ खेलमा दुवै टोलीले ३-३ खेल जितेका छन् । कान्तिपुर म्यासले प्रि-म्याच एनालाईसीससहित आईपीएफ २०२६ को प्रत्यक्ष प्रसारण गरिरहेको छ ।