
जुम्ला । जुम्लाका किसानका लागि मौरीपालन आम्दानीको राम्रो स्रोत बन्दै गएको छ।
महको बढ्दो मूल्यले किसानलाई मौरीपालनतर्फ प्रेरित गरिरहेको छ । हाल महको मूल्य जुम्लामै प्रतिकेजी २ हजार ५ सय रूपैयाँ छ । जुम्ला चन्दननाथ नगरपालिका-४ का नारायण चौलागाईंका १६ मौरीघार छन्। उहाँ हरेक वर्ष एक घारबाट पाँच केजीसम्म मह उत्पादन गर्नुहुन्छ।
बर्षेनि ८० केजीभन्दा बढी मह उत्पादन गरेर उहाँ स्थानीय बजारमै बिक्री गर्नुहुन्छ। चौलागाईंले मह बिक्री गरेर वार्षिक एक लाख ५० हजार रूपैयाँ कमाइरहनु भएको छ। उहाँ मौरीपालनबारे प्रशिक्षक पनि हुनुहुन्छ। बस्ती-बस्तीमा पुगेर मौरीपालनको अवस्था बुझ्दै मौरीमा देखिएको समस्याबारे पनि अध्ययन गरिरहनुहुन्छ।
चन्दननाथ ३ का धनजित बुढा २० घारबाट वर्षको न्यूनतम एक क्विन्टल मह निकाल्नुहुन्छ। २ लाख ५० हजार रूपैयाँ उहाँले महबाट आम्दानी गर्नुहुन्छ। जुम्लामा एपी सेराना जातको मौरीपालन हुने गरेको छ। कोशेलीका रूपमा अस्ट्रेलियालगायतका मुलुकमा पुग्ने जुम्लाको मह नेपालगञ्ज, काठमाडौं, पोखरा, सुर्खेतलगायतका सहरमा हुने कृषि प्रदर्शनीमा समेत पुग्छ।
पहिले भिर पहरामा घार राख्ने चलन थियो। अहिले घर वरिपरि मात्रै मौरीपालन हुन्छ। जिल्लास्थित मौरीपालन सहकारीको तथ्यांकअनुसार पाँच सयभन्दा धेरैले मौरीपालन गरिरहेका छन्। न्यूनतम ५ देखि अधिकतम ६० घारसम्म मौरीपालन भइरहेको छ। अहिले जिल्लामा एक हजार ६ सय घार छन्। जसबाट बर्सेनि न्यूनतम २ करोड रूपैयाँ भित्रिने गरेको छ।
घार सफा नहुने, कृषि बालीमा बढ्दो विषादीको प्रयोग र मैन पुतलीको संक्रमणले मौरी बचाउन कठिन हुने गरेको छ। पछिल्लो समयमा खडेरीको प्रकोप बढिरहेको छ। फूलहरू फूले पनि रस भरिएको हुँदैन । भालु, मलसाँप्रो, अरिङगाल र छेपारोको पनि मौरीलाई खतरा उत्तिकै छ।
सरकारसँग पटक-पटक मौरी बचाउने नीति ल्याउन माग गरिएको भए पनि सुनुवाइ नभएको यसका लागेका किसानको दु:खेसो छ। विगत पाँच वर्षदेखि मौरी बीमाको व्यवस्था गर्न किसानले आग्रह गरिरहेका छन् जुन पूरा भएको छैन।