
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सार्नुभएको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुग्नुभएका मन्त्री पोखरेलले सो घोषणा गर्नुभएको हो । मन्त्री पोखरेलले अबको पाँच वर्षमा ग्रासरूटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याउनु भयो ।
काठमाडौं महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानुनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभइ मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने बताउनु भयो ।
आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गर्नुभयो । मन्त्री पोखरेलले आगामी पाँच वर्ष खेल क्षेत्रलाई ग्रासरूटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।