
काठमाडौं । संघीय राजधानी काठमाडौंलाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने व्यस्त र रणनीतिक महत्वको सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य पछिल्लो समय तीव्र रूपमा अघि बढाइएको छ।
आयोजना निर्माण अन्तिम चरणतर्फ पुग्दा सडक प्रयोग गर्ने सर्वसाधारणले भोग्नुपरेको सास्ती भने अझै हटेको छैन। करिब १६ किलोमिटर लम्बाइको यो सडकलाई दुई लेनबाट विस्तार गरी ६ लेनको आधुनिक सडकमा रूपान्तरण गर्ने काम भइरहको छ।
सुक्खा मौसममा अत्यधिक धुलो र पानी पर्नेबित्तिकै हिलाम्य र चिप्लो बन्ने समस्याले सूर्यविनायक-धुलिखेल सडकको यात्रा जोखिमपूर्ण र कष्टकर छ। सवारी चाप अत्यधिक रहेको यो सडक विस्तारका कारण साँघुरो, डाइभर्सन र अस्थायी मार्ग प्रयोग गर्नुपर्ने बाध्यताले लामो जामको समस्या छ।
विशेषगरी बिहान र साँझ घन्टाैंसम्म सवारीसाधन जाममा फस्ने गरेका छन्। सडक विस्तारको अलमलले आजित बनेका बनेपाका व्यवसायी व्यापार व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन्। दुई खण्डमा निर्माण थालिएको आयोजनाअन्तर्गत धुलिखेल, बनेपा, साँगा, जनागाल, बाँसघारी, बुडोल तथा धुलिखेल आसपासका क्षेत्रमा अहिले पिच तथा डीभीएम ढलानको काम भइरहेको छ।
ठाउँ ठाउँमा सडक भत्काइएको र निर्माण सामग्री अरसल्ल पारिएकाले अरनिको राजमार्गको यो खण्डमा यात्रा गर्ने यात्रु, चालक तथा व्यवसाय सञ्चालन गर्नेहरू सबैलाई हैरानी छ । धुलिखेल-साँगा खण्डमा हालसम्म ६८ प्रतिशत हाराहारी भौतिक प्रगति हुँदा साँगा-सूर्यविनायक खण्डमा ४८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
साँगा क्षेत्रको भौगोलिक बनावट, घुम्ती, भीर तथा चट्टानका कारण आयोजनाले चुनौती भोग्नुपरेको छ। त्यस्तै यस क्षेत्रका जलाधार र घरटहरा हटाउन भएको ढिलाइले निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ। सडक आयोजनाको अनुसार ७८ सालबाट सुरु गरिएको यो आयोजनालाई सम्पन्न गर्न २ खण्ड गरेको निर्माण ठेक्का लागेको छ।
दुवै खण्डको म्याद आगामी २०८३ असार मसान्त र चैत्र मसान्तसम्म साँगा सुर्यविनायक खण्डको बाँकी छ। साँगा-धुलिखेल खण्ड लामा कन्स्ट्रक्सनले करिब ३ अर्ब रुपैयाँभन्दा बढी रकम रुपैयाँमा र साँगा-सूर्यविनायक खण्ड शर्मा एन्ड कम्पनी -शर्मा-सैलुङ्ग जेभीले करिब ४ अर्ब रूपैयाँमा निर्माणको जिम्मा लिएको हो।
थपिएको म्याद सकिने समय नजिकिँदा प्राविधिक समस्या, मौसमी प्रतिकूलता र आवश्यक संरचना निर्माणमा ढिलाइ हुँदा निर्धारित समयमै काम सम्पन्न गर्न चुनौती देखिएको छ।