
काठमाडौँ । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को तेस्रो खेलमा राजस्थान रोयल्सले पाँचपटकको विजेता चेन्नई सुपर किङ्सलाई ८ विकेटले पराजित गर्दै शानदार सुरुआत गरेको छ । गुवाहाटीको बारसापारा क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले टस जित्दै फिल्डिङ रोजपछि चेन्नईले ब्याटिङको निम्तो पायो । वर्षाका कारण ओसिलो बनेको पिचमा चेन्नईको ब्याटिङ निकै कमजोर देखियो ।
आईपीएलको इतिहासमा १८ वर्षपछि पहिलोपटक महेन्द्रसिंह धोनीबिना मैदान उत्रिएको चेन्नईले पावरप्लेमै ४१ रन जोड्दा ४ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो । चेन्नईका लागि आफ्नो डेब्यु खेल खेलिरहेका सन्जु सामसन र कप्तान रुतुराज गायकवाड ६-६ रनमे पेभेलियन फर्किएका थिए । सन् २०२० यता सिजनको पहिलो खेलमा ५० भन्दा बढी रन बनाउने सन्जु सामसनको सिलसिला यसपटक भने तोडियो । टोलीका लागि जेमी ओभरटनले ३६ बलमा ४३ रनको संघर्षपूर्ण इनिङ्स खेलेर चेन्नईलाई सम्मानजनक १ सय २७ रनसम्म पुर्याए ।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र नान्द्रे बर्गरले समान २-२ विकेट लिए । चेन्नईबाट राजस्थान फर्किएका रविन्द्र जडेजाले पनि २ विकेट आफ्नो नाम गरे ।
१ सय २८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा १५ वर्षीय वैभव सूर्यवंशीले राजस्थानका लागि शानदार पारी खेले । सूर्यवंशीले मात्र १५ बलमा अर्धशतक पूरा गरे, जुन आईपीएल इतिहासको संयुक्त तेस्रो र राजस्थानका लागि दोस्रो सबैभन्दा छिटो अर्धशतकको रेकर्ड समेत हो । उनले १७ बलमा ५२ रन बनाउने क्रममा ४ चौका र ५ छक्का प्रहार गरे । उनलाई यशस्वी जयसवालले ३६ बलमा ३८ रन बनाएर अविजित साथ दिए ।
राजस्थानले मात्र १२ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ४७ बल बाँकी रहँदै हात पारेको यो आईपीएल इतिहासकै राजस्थानको सबैभन्दा ठूलो जितसमेत हो । जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब राजस्थानले अप्रिल ४ मा गुजरात टाइटन्सको सामना गर्नेछ भने चेन्नईले अप्रिल ३ मा पन्जाब किङ्सविरुद्ध खेल्नेछ ।