
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले लाओसविरुद्ध जितका लागि खेल्ने बताएका छन्।
एएफसी एसिया कप छनोटअन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्याच कन्फरेन्समा एरेनाले युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस पुगेको र आफ्नो लक्ष्य युवा खेलाडीलाई निखार्नु रहेको बताए।
गुग्लिएल्मोले राष्ट्रिय टिममा पाँच खेलाडीलाई स्थान दिएका छन्। उनले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् । यसअघि लाओससँग उसकै घरेलु मैदानमा नेपाल पराजित भएको थियो।
त्यसलाई ध्यानमा राखेका गुग्लिएल्मोले लाओस बलियो र राम्रो टोली रहेको भन्दै आफ्नो टिम पनि खेलका लागि तयार रहेको बताएका हुन्। यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए । उनले राम्रो तयारी रहेको र कोचको रणनीतिअनुसार नै प्रर्दशन गर्ने बताएका हुन्।
नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह 'एफ' मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिइसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् । हेड टू हेड तथ्यांक अनुसार हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् ।
जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोटअन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २-१ ले पराजित भएको थियो । नेपाल मंगलबार त्यही खेलको बदला लिने योजना हुनेछ।