
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आज लाओसको सामना गर्दै छ ।
समूह 'एफ' को यो अन्तिम खेल आज नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । न्यू लाओस नेशनल स्टेडियममा हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली यसअघि नै छनोट चरणबाटै बाहिरिइसकेका छन् ।
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको भने यो पहिलो आधिकारिक प्रतिस्पर्धा हो । त्यसैले एरेनाले यस खेललाई खेलाडीहरूको क्षमता मापन गर्ने अवसरको रूपमा लिएका छन् भने उनी स्वयंका लागि चाहिँ यो महत्त्वपू्र्ण रणनीतिक परीक्षण हुनेछ ।
एरेनाले टोलीमा व्यापक परिवर्तन गर्दै पाँच नयाँ अनुहारलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् । जसमा मिडफिल्डर पेम्बा दोर्जे लामा, फरवार्ड मिलन राई, युवराज खड्का, मिडफिल्डर रोमन भुजेल र गोलरक्षक योगेश धिमाल रहेका छन् ।
तर, नेपाली टोलीका लागि सबैभन्दा ठूलो आश्चर्य भनेको कीर्तिमानी गोलकर्ता अञ्जन विष्टको अनुपस्थिति हो । अञ्जनसँगै मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बू पनि यसपटक टोलीमा अटाएका छैनन् । टोलीको कप्तानी भने अनुभवी गोलरक्षक किरण चेम्जोङले सम्हाल्दै छन् ।
हेड टु हेडमा नेपाल लाओसमाथि हाबी भएको देखिन्छ। हालसम्म भएका ६ भेटमा नेपालले ४ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ । यद्यपि, सन् २०२५ जुनमा भएको पछिल्लो भिडन्तमा भने नेपाल लाओससँग २-१ गोलअन्तरले पराजित भएको थियो ।
फिफा वरीयतामा १ सय ८२ औँ स्थानमा रहेको नेपाल र १ सय ९० औँ स्थानमा रहेको लाओस दुवै यस खेलमा जित निकाल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छन् । अखिल नेपाल फुटबल संघ-एन्फाको आन्तरिक विवाद र पूर्वाधार मापदण्डमा दशरथ रंगशाला अयोग्य भएका कारण नेपालमा हुनुपर्ने यो खेल लाओस पुगेको हो ।