
काठमाडौँ । लगातार दुई फिफा विश्वकप गुमाएर इतिहासकै खराब लयबाट गुज्रिएको इटालीले पुनरागमनको संकेत दिएको छ। गएराति बेर्गामोमा भएको प्ले-अफ सेमिफाइनलमा नर्दर्न आयरल्यान्डलाई पराजित गर्दै चारपटकको विश्वकप विजेता इटालीले आगामी विश्वकप खेल्ने आफ्नो सपनालाई जीवित राखेको छ ।
जेनारो गाटुसोको नेतृत्वमा रहेको इटालीले पहिलो हाफमा नर्दर्न आयरल्यान्डको बलियो रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नुपर्यो । पाहुना टोलीका गोलकिपर पियर्स चार्ल्सले इटालीका धेरै प्रहारहरू विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इटालीले बलियो प्रर्दशन गर्यो ।
५६औँ मिनेटमा न्युकासलका मिडफिल्डर स्यान्ड्रो टोनालीले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै इटालीलाई १-शून्यको अग्रता दिलाए । ८०औँ मिनेटमा मोइस किनले टोनालीकै पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरे र २-शून्यको जित सुनिश्चित गरे ।
जितसँगै इटाली अब प्ले-अफ फाइनलमा प्रवेश गरेको छ। विश्वकपको टिकटका लागि इटालीले अब आगामी मंगलबार, बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्नेछ । बोस्नियाले भने अर्को सेमिफाइनलमा वेल्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । यो खेल जितेमा इटाली सन् २०१४ पछि पहिलोपटक विश्वकपमा फर्कनेछ ।