
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले पहिलो पटक आयोजना हुन लागेको आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।
क्यानले बुधबार समाजिक सञ्जालमार्फत २९ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वभरका उदीयमान क्रिकेट राष्ट्रहरूका लागि पहिलो पटक च्यालेन्ज ट्रफीका रूपमा नयाँ प्रतियोगिता सुरू गर्न लागेको हो ।
प्रतियोगिता आगामी अप्रिलको दोस्रो साता रूवान्डामा आयोजना हुने निश्चित भए पनि आधिकारिक मिति र सहभागी टोली भने अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रतियोगितामा एसिया, अफ्रिका, युरोप, अमेरिका तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक-एक गरी कुल पाँच टोली सहभागी हुने बताइएको छ ।
चोटका कारण एसीसी राइजिङ स्टार्स महिला एसिया कप गुमाएकी नियमित कप्तान इन्दु बर्मा प्रारम्भिक टोलीमा फर्किएकी छन् ।