बागमतीविरुद्ध पुलिसको ७ विकेटको जित

चैत्र १२, २०८२ |खेल ब्युरो
बागमतीविरुद्ध पुलिसको ७ विकेटको जित

काठमाडौँ । प्रधानमन्त्री कपमा शंकर रानाले सानदार शतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ७ विकेट जित हात पारेको छ । जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय ६५ रनको योगफल तयार पारेको थियो । शुभ कसाकारलाई १४ र आशुतोस घिरैयालाई २२ रनमा गुमाएको बागमतीका लागि शिभम् तिवारीले १२ रन मात्र बनाउन सके ।

चौथो विकेटका लागि इशान पाण्डे र पवन थापाले १ सय २४ रनको साझेदारी गर्दै बागमतीको मध्यक्रम सम्हाले । अघिल्लो खेलमा गण्डकीविरुद्ध ७१ रन बनाएका इसानले यस खेलमा पनि सोही लयलाई निरन्तरता दिँदै ७० रनको अर्धशतकीय योगदान दिए । पवनले सर्वाधिक ७९ रनको योगदान दिए ।

पुलिसका लागि राशिद खान र दिनेश खरेलले समान ३-३ विकेट लिए । करण केसीको नाममा २ विकेट रह्यो । २ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले ४४ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्यो ।

दिनेश खरेल र शंकर रानाले १ सय ५९ रनको ओपनिङ साझेदारी गर्दै पुलिसलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दिनेश ७० रनको अर्धशतकीय योगदान दिँदै बाहिरिए । नियमित ओपनर कुशल भुर्तेलले चोटका कारण यो खेल गुमाएपछि व्याटिङ अर्डरमा प्रमोसन पाएका शंकरले प्राप्त अवसरको भरपुर सदुपयोग गरे । अघिल्लो खेलमा एपीएफविरुद्ध ६१ रन बनाएका शंकरले यस खेलमा १ सय १६ रनको शतकीय इनिङ्स खेले । १ सय २८ बलको सामना गरेका शंकरको शतकमा १३ चौका र ४ छक्का सामेल छन् । कप्तान आरिफ शेख ४३ र राशिद खान १० रनमा अविजित रहे । बागमतीका लागि रिजन ढकाल, कप्तान सन्दीप लामिछाने र सुबास खत्रीले १-१ विकेट लिए ।

यससंगै ३ खेलमा २ जितसहित ४ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा १ जितसहित २ अंक जोडेको बागमती छैटौं स्थानमा छ । प्रतियोगितामा भोलि २ खेल हुने छन् ।