बालेन्द्र शाहले आज प्रधानमन्त्रीमा शपथ लिने

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्र शाहले आज प्रधानमन्त्रीमा शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो शीतलनिवासमा शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

बिहीबार रास्वपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएका शाहले आज दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिने तालिका छ । योसँगै ३६ वर्षीय शाह देशको ४०औँ प्रधानमन्त्री बन्नुहुनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट निर्वाचित हुनुभएका शाहले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल सरकारको नेतृत्व गर्नुहुनेछ । शपथ समारोहमा विभिन्न राजनीतिक दल तथा कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलगायतलाई आमन्त्रण गरिएको छ ।

आजै प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरूको पनि शपथ गराइने भएको छ । यद्यपि मन्त्रिपरिषद्‌का अन्य सदस्यका बारे भने जानकारी दिइएको छैन । मन्त्री चयन तथा सरकारका सुरुआती चरणका प्राथमिकतालगायतका विषयमा सभापति रवि लामिछाने र शाहबीच निरन्तर छलफल भइरहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । मन्त्रीहरूको नाम टुंग्याउन आज बिहान ७ बजे सभापति र वरिष्ठ नेतासहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथग्रहण कार्यक्रममा ‘७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ’ को व्यवस्था गराउन आग्रह गरिएको छ। शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २ः१५ बजे पदभार ग्रहण गर्ने तय भएको बुर्लाकोटीले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.