.png&w=1000&height=550)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ-एन्फाले निर्वाचन स्थगन गरेको छ । निरन्तर प्रभावित हुँदै आएको निर्वाचनको कार्यतालिका पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्को निलम्बनका कारण स्थगित गरिएको एन्फा निर्वाचन समितिले जनाएको छ ।
खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको पत्र प्राप्त भएपछि मतदान कार्यक्रम स्थगित गरिएको हो। निर्वाचन समितिका अनुसार परिषदबाट चैत ११ गते गरिएको निलम्बनसम्बन्धी निर्णय एन्फा सचिवालयमार्फत् आजमात्रै प्राप्त भएको हो । सूचनामा भोलिका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । समितिका संयोजक रामचन्द्र गौतम, सदस्य-सचिव लोकेन्द्र ओली तथा सदस्य सञ्जना केसीले संयुक्त रूपमा जारी गरेको सूचनामा अहिलेको परिस्थितिका कारण निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन नसकिने स्पष्ट पारिएको छ। पछिल्लो समय एन्फाभित्रको विवाद र प्रशासनिक निर्णयका कारण नेपाली फुटबल अनिश्चित बनेको हो।
यसअघि, एन्फाको निर्वाचनका लागि पदाधिकारी र सदस्यमा दरखास्त दिएका उम्मेद्वारले आज दिउँसो नै चुनाव बहिस्कार गरेका थिए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभिन्न क्लब, संघ र जिल्लाका प्रतिनिधिहरुले निर्वाचनमा सहभागी नहुने जानकारी दिएका हुन्।