
काठमाडौँ । अर्जुन कुमालले सानदार प्रदर्शन गर्दै लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे पनि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले जितको खाता खोल्न सकेन । आज सम्पन्न खेलमा गण्डकीविरुद्ध त्रिभुवन आर्मी क्लब ७ विकेटले विजयी भयो ।
जारी पीएम कपमा आर्मीको यो लगातार दोस्रो जित हो भने गण्डकीको लगातार दोस्रो हार हो । तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ९ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि अर्जुनले सर्वाधिक ६७ रनको योगदान दिए । अघिल्लो खेलमा पनि अर्जुनले बागमती प्रदेशविरुद्ध ७४ रन प्रहार गरेका थिए । दिपक डुम्रे ५१ रनको अर्धशतकीय योगदान दिँदै बाहिरिए । अन्य ब्याटरहरुको प्रदर्शन कमजोर रह्यो । आर्मीका लागि आकाश चन्द र सहाव आलमले समान ३-३ तथा कुशल मल्लले २ विकेट हात पारे ।
जवाफमा २ सय १० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पुरा गरे । कप्तान विनोद भण्डारी र तृतराज दाशले १ सय १० रनको शतकीय ओपनिङ साझेदारी गरे । विनोदले सर्वाधिक ५८ रन बनाए । अर्जुन साउदले खाता खोल्न सकेनन् । तृतराज ५१ रनमा बाहिरिए । त्यसपछि भीम सार्की र कुशल मल्लले १ सय रनको अविजित साझेदारी गरे । भिम ५४ र कुशल ४३ रनमा नटआउट रहे । गण्डकीका लागि सुबास भण्डारीले २ तथा विपिन खत्रीले १ विकेट लिए ।
यससँगै लगातार २ खेल जितेको आर्मीले ४ अंक जोडेको छ । जितविहीन गण्डकी तालिकाको पुछारमा छ ।