पिस म्याराथनकाे उपाधि आर्मीका विनोद रोकायालाई

चैत्र ७, २०८२ |खेल ब्युरो
पिस म्याराथनकाे उपाधि आर्मीका विनोद रोकायालाई

त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । 

नेपाल ओलम्पिक कमिटिको अगुवाइमा शनिबार सम्पन्न म्याराथनमा निर्धारित ४२ दशमलव १९ किलोमिटर दूरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै रोकाया च्याम्पियन बनेका हुन् । विजेता रोकायाले ३ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे । 

वर्षाले प्रभावित दौडमा आर्मीकै सुशीलकुमार शाही निर्धारित दूरी २ घन्टा १८ मिनट १६ सेकेन्डमा पार गर्दै दोस्रो भए । उनले २ लाख ५० हजार रूपैयाँ प्राप्त गरे । आर्मीकै नरेन्द्रसिंह रावत निर्धारित दूरी २ घन्टा १९ मिनट ५८ सेकेन्डमा पार गरेर तेस्रो भए । उनले १ लाख ५० हजार रूपैयाँ प्राप्त गरे ।

महिलातर्फको २१ किलोमिटर हाफ म्याराथनमा पनि आर्मी क्लबकै खेलाडीको वर्चस्व रह्याे । त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले च्याम्पियन बनेर १ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन् । धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो स्थान हासिल गरिन् । आर्मीकी निशा सार्कीले तेस्रो हुँदै ८० हजार रूपैयाँ प्राप्त गरिन् ।

म्याराथनमा नेपालसहित भारत, अमेरिका र नाइजेरियालगायत देशबाट ६ सय बढी धावक सहभागी थिए । शान्ति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरूष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि समावेश गरिएको थियो ।