सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

चैत्र ७, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

धनगढी । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरपश्चिम टोलीलाई यसै सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गर्दै आएको छ। कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। 

उनले टोलीलाई व्यवसायिक रूपमा अघि बढाउने उद्देश्यले कर्पोरेट क्षेत्रसँग सहकार्य विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए। प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै उक्त विश्वासलाई मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे।

अनुभवी र युवा खेलाडीको संयोजनले टोली सन्तुलित रहेको उल्लेख गर्दै कप्तान मल्लले शीर्ष चारमा स्थान बनाउने लक्ष्यसहित टोली काठमाडौं प्रस्थान गर्ने बताए। उनले प्रायोजन सहयोगले टोलीको मनोबल समेत उच्च बनाएको बताए। टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन्।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।