फाप्ला निर्माण प्रदेश सरकारको पनि प्राथमिकतामा : मुख्यमन्त्री शाह

चैत्र ७, २०८२ |टेकराज जोशी
फाप्ला निर्माण प्रदेश सरकारको पनि प्राथमिकतामा : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएकाे छ।

शनिबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण समितिका अध्यक्ष सुवास शाहीसँग भएको भेटमा मुख्यमन्त्री शाहले परियोजनाको हालसम्मको प्रगति र तयारीबारे जानकारी लिँदै प्रदेश सरकार निर्माण कार्यमा सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएकाे हाे । 

मुख्यमन्त्री शाहले फाप्लालाई सुदूरपश्चिमको ‘गेम चेञ्जर’ परियोजनाका रूपमा उल्लेख गर्दै यसको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयाे । साथै, संघीय सरकारसँग पनि आवश्यक समन्वय र पहल गरिने उहाँले स्पष्ट पार्नुभयाे। 

भेटका क्रममा अध्यक्ष शाहीले परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै आगामी बजेटमा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयाे । धनगढीमा निर्माणाधीन खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सम्पन्न भइसकेको छ । 

परियोजनाको पहिलो चरणका लागि करिब ११ अर्ब र"पैयाँ बजेट आवश्यक पर्ने अध्यक्ष शाहीले जानकारी दिनुभयाे । उहाँले यस्ता ठूला पूर्वाधार आयोजनामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रमा विगतजस्तो टुक्रे बजेट विनियोजन नगरी दीर्घकालीन प्रभाव पार्ने परियोजनामा लगानी गर्नुपर्ने धारणा राख्नुभयाे । देशकै हित हुने गरी फाप्लाजस्ता ठूला परियोजनामा तीनै तहका सरकारको लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।