लस एन्जलस ओलम्पिक २०२८ : पहिलो चरणको टिकट ड्र दर्ता मार्च १८ मा बन्द हुँदै

चैत्र ३, २०८२ |खेल ब्युरो
लस एन्जलस ओलम्पिक २०२८ : पहिलो चरणको टिकट ड्र दर्ता मार्च १८ मा बन्द हुँदै

काठमाडौं । लस एन्जलस ओलम्पिक २०२८ को पहिलो चरणको टिकट ड्रका लागि दर्ता प्रक्रिया मार्च १८ मा बन्द हुने भएको छ ।

आयोजकका अनुसार जनवरीदेखि अनलाइनमार्फत दर्ता खुला गरिएको थियो । हालसम्म विश्वका १ सय ९७ देश तथा क्षेत्रबाट ५० लाखभन्दा बढी खेलप्रेमीहरूले टिकट खरिदका लागि नाम दर्ता गरिसकेका छन् । यसले आगामी ओलम्पिकप्रति सुरूवाती चरणमै टिकटको उच्च माग देखिएको छ । प्रतियोगिता २०२८ जुलाई १४ देखि सुरू हुने तालिका छ ।

मार्च १८ भित्र दर्ता गर्ने दर्शकहरूले अप्रिल ९ देखि १९ सम्म सञ्चालन हुने पहिलो टिकट बिक्री चरणका लागि चिठ्ठा प्रणालीमार्फत सहभागिता जनाउन पाउनेछन् । छनोटमा परेकाहरूलाई मार्च ३१ देखि अप्रिल ७ बीच इमेलमार्फत जानकारी दिइनेछ ।

यसैबीच, दक्षिणी क्यालिफोर्निया तथा ओक्लाहोमा सिटीका केही क्षेत्रका बासिन्दाहरूका लागि स्थानीय प्रि-सेल अप्रिल २ देखि ६ सम्म सञ्चालन गरिनेछ । पहिलो चरणमा छनोट भएका दर्शकहरूले उपलब्धताअनुसार विभिन्न खेलका लागि बढीमा १२ वटा टिकट खरिद गर्न पाउनेछन् । उद्घाटन तथा समापन समारोहका लागि भने अधिकतम ४-४ टिकटको सीमा तोकिएको छ ।