
काभ्रे । काभ्रेमा बीउ उत्पादक, बीउ तथा विषादी व्यवसायी एवं सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा बीउ उत्पादन, बजारीकरण तथा विषादी प्रयोगको अवस्थाबारे विस्तृत छलफल गरिएको थियो। कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनु भयो। उहाँले काभ्रे र सिन्धुपाल्चोकमा बीउ तथा विषादी प्रयोगको अवस्था प्रस्तुत गर्नु हुँदै प्रत्येक वर्ष विषादीको आयात बढ्दो क्रममा रहेको र हाल प्रतिहेक्टर करिब १.८५ मात्रामा विषादी प्रयोग हुँदै आएको बताउनु भयो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार काभ्रेपलाञ्चोकमा धान उत्पादन करिब ६२ मेट्रिक टन रहेको भए पनि आवश्यक मात्रा ४५८ मेट्रिक टन भन्दा बढी रहेको जानकारी दिनु भयो। गहुँ, मकैलगायतका बालीमा पनि उत्पादन र आवश्यकताबीच ठूलो अन्तर रहेको बताउनु भयो।
सिन्धुपाल्चोकमा पनि यस्तै अवस्था रहेको जानकारी गराउनु भयो। बीउ प्रतिस्थापन दर पनि सन्तोषजनक नरहेको जानकारी दिनु भयो। नेपालमा धानको प्रतिस्थापन दर करिब २८ प्रतिशत रहेकोमा काभ्रेपलाञ्चोकमा झन्डै १५ प्रतिशत मात्र रहेको बताउनु भयो।
मकैमा नेपालमा करिब १६ प्रतिशत र काभ्रेमा ११ प्रतिशत तथा गहुँमा नेपालमा २२ प्रतिशत र काभ्रेमा करिब १७ प्रतिशत प्रतिस्थापन दर रहेको जानकारी दिनु भयो। बीउ विज्ञान तथा गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख वेनु प्रसाद प्रसाईंले नेपालमा बीउ उत्पादन, बजारीकरण तथा विषादी प्रयोगको अवस्थाबारे प्रस्तुति गर्नु भयो।
उहाँले बढ्दो जनसंख्या र उत्पादन वृद्धि गर्नुपर्ने दबाबका कारण विषादी प्रयोग निरन्तर बढ्दै गएको बताउनु भयो। विशेषगरी तरकारी तथा फलफूलमा विषादीको प्रयोग तीव्र रूपमा बढ्दै गएको जानकारी दिनु भयो। उहाँका अनुसार नेपालमा बीउ क्षेत्रमा ७७ प्रतिशत निजी क्षेत्रको लगानी रहेको छ भने २३ प्रतिशत मात्र सरकारी क्षेत्रबाट काम भइरहेको छ।
धान, मकै र गहुँमा केही उत्पादन भए पनि तरकारी तथा फलफूलको बीउ उत्पादनमा नेपाल अझै कमजोर रहेको उहाँले बताउनु भयो। उत्पादन भएका बीउहरू सुविधा सम्पन्न क्षेत्रमा मात्र सीमित हुने र दुर्गम क्षेत्रमा विस्तार हुन नसकेको अवस्था रहेको जानकारी गराउनु भयो।
उन्नत बीउ उत्पादन गर्ने कम्पनी तथा कृषकलाई ५० प्रतिशतसम्म अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउँदै आएको जानकारी दिनु भयो। देशभर हाल ७८ वटा बीउ उत्पादक कम्पनी सक्रिय रहेका छन्। साथै, निश्चित बीउ उत्पादन क्षेत्र निर्धारण गरी स्थानीय र प्रदेश सरकारले समेत सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनु भयो।
उहाँले “मकैको बीउ” मात्र लेखेर वितरण गर्ने चलन हटाइ कुन जातको बीउ हो भन्ने स्पष्ट उल्लेख गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। बाह्य बीउलाई तीन चरण परीक्षणपछि मात्र सूचीकृत गरिने र हाल ७५० भन्दा बढी तरकारीका बीउहरू सूचीकृत भई प्रयोगमा रहेको उहाँले जानकारी दिनु भयो।
अब अन्तर्राष्ट्रिय स्तरबाट आयात गरिएको मूल बीउबाट नेपालमै उत्पादन गरी निर्यात गर्ने बाटो समेत खुल्दै गएको उहाँले बताउनु भयो। प्रस्तुतीकरणमा विषादी प्रयोगको अवस्थाबारे पनि उहाँले जानकारी दिनु भयो। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा किरानाशक, ढुसीनाशक र झारनाशक विषादीको प्रयोग उच्च रहेको र जैविक विषादीको प्रयोग न्यून रहेको उहाँले बताउनु भयो।
त्यसैगरी, बीउ विक्रेताको संख्या समेत बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनु भयो। उहाँले आर्थिक वर्ष २०७९/८० मा काभ्रेमा ४६ र सिन्धुपाल्चोकमा ४ गरी जम्मा ५० विक्रेता रहेकोमा २०८१/८२ सम्म आइपुग्दा यो संख्या बढेर १०६ पुगेको जानकारी गराउनु भयो।
वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पौडेल (हरिहर भवन, ललितपुर)ले विषादीको प्रयोग सुरूवातमा मानव स्वास्थ्य सुधार, विशेषगरी मलेरिया नियन्त्रणका लागि गरिएको भए पनि अहिले यसको प्रयोग बढ्दो र कहिलेकाहीँ असुरक्षित भइरहेको उहाँले जानकारी दिनु भयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमले विषादीको असरबारे नागरिकलाई सचेत गराउँदै विषादीरहित उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले गुणस्तरीय बीउ प्रयोग र सुरक्षित कृषि अभ्यास प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो।
कार्यक्रममा सहभागीहरूले बीउ उत्पादनलाई व्यवस्थित बनाउने, गुणस्तर सुनिश्चित गर्ने तथा विषादीको सुरक्षित प्रयोगका लागि समन्वयात्मक पहल आवश्यक रहेको बताएका छन्।