
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युवा क्लबले छैटौँ बराबरी खेलेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो हाफमा पुनरागमन गर्दा सातदोबाटो जितविहीन रह्यो । एन्फमा कम्पलेक्स सातदोबाटोमा साेमबार भएको दिनको पहिलो खेलमा विभागीय टोलीविरूद्ध सातदोबाटोले बलियो प्रदर्शन गर्यो ।
सुरूआती १५ मिनेटमै अरूण लामामार्फत सातदोबाटोले अग्रता लियो । फोडे फोफानाको असिस्टमा अरूणले गोल गरे । २५औँ मिनेटमा फोफानाले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । पहिलो हाफमा २-० ले पछि परेको विभागीय टोलीले दोस्रो हाफमा पुनरागमन गर्यो । दोस्रो हाफमा दुई गोल गर्दै पुलिसले हार टार्यो ।
बराबरीसँगै सातदोबाटोले ११ खेलमा ९ अंक बनाएको छ । यता, त्यति नै खेल खेलेको पुलिसको पनि ९ अकं रह्यो । समान अंक भए तापनि गोल अन्तरका आधारमा पुलिस एक स्थान अगाडि छ । अब सातदोबाटोले बिहीबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यता, पुलिसले भने शुक्रबार काक्रेविहारसँग खेल्नेछ ।