
काठमाडौं । उपभोक्ताहरूले आधा सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् ।
मंगलबार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिन्डर भए पनि ग्यास पाउँदा खुसी लागेको उनीहरूको प्रतिक्रिया थियो ।
नजिकको ग्यास डीपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिन्डर भए पनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गर्नुभयो । उपभोक्ताहरूले ग्यासको अभावमा आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।
उहाँले भन्नुभयो, ‘म कलंकी बस्छु । मैले १० दिन भयो खसी बजारमा नाम लेखाएको । तर मेरो चाहीँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाइहरूको ग्यासै सकियो । खाना पाकेन उनीहरूको । आज चाही अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधा सिलिन्डर भए पनि लिइयो । थ्यांकक्यू उहाँहरूलाई ।’
यता, आयल निगमले भने उपभोक्ताहरूको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताउनु भयो ।