एन्फा राष्ट्रिय लिगमा उपाधि नजिक रहेको एपीएफ र चित्लाङको गोलरहित बराबरी

चैत्र १, २०८२ |खेल ब्युरो
एन्फा राष्ट्रिय लिगमा उपाधि नजिक रहेको एपीएफ र चित्लाङको गोलरहित बराबरी

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा उपाधि होडमा रहेको एपीएफ क्लबले आइतबार चित्लाङ फुटबल क्लबविरूद्ध गोलरहित बराबरी खेलेको छ ।

सातदोबाटो एन्फा कम्प्लेक्समा भएको आइतबारको दोस्रो खेलमा एपीएफविरूद्ध चित्लाङले बलियो प्रर्दशन गर्‍यो । पहिलो हाफमा चित्लाङका म्याथ्यु बाबाटुन्डेको प्रहार गोलरक्षक अन्जल श्रेष्ठले विफल पारे । खेलको ३४औँ मिनेटमा चित्लाङका सोलोमोन इलेसानमीको प्रहारले टार्गेट भेट्टाउन सकेन । 

४०औँ मिनेटमा चित्लाङका गोलरक्षक चन्द्रसुन्दर श्रेष्ठको गल्तीमा पाएको अवसरमा विकास टिटुङ विफल भए । पहिलो हाफमा कुनै गोल गर्न नसकेको विभागीय टोलीले दोस्रो हाफमा पनि डेडलक तोड्न सकेन । ८४औँ मिनेटमा चित्लाङका आरोन थापाको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरियो । 

दुवै टोलीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिनु परेको हो । ११ खेल खेलेको एपीएफको यो चौथो बराबरी हो भने, १२ खेल खेलेको चित्लाङको यो पाँचौँ बराबरी हो । अब एपीएफले बिहीबार मछिन्द्रको सामना गर्नेछ । त्यस्तै, चित्लाङले भने सोही दिन लालिगुराँसँग प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय लिग फुटबलमा आइतबार नै भएको दिनको पहिलो खेलमा जावलाखेल युवा क्लबले काक्रेविहार युवा क्लबलाई ४-१ ले पराजित गर्दै आफ्नो चौथो जित हात पारेको छ ।