एन्फा र 'ए' डिभिजन लिग क्लबबीचको द्वन्द्व उत्कर्षमा, एन्फामा क्लबको ताला

खेलाडीका माग ओझेलमै
चैत्र २, २०८२ |खेल ब्युरो
एन्फा र 'ए' डिभिजन लिग क्लबबीचको द्वन्द्व उत्कर्षमा, एन्फामा क्लबको ताला

काठमाडौं । सहिद स्मारक 'ए' र 'बी' डिभिजन लिगका प्रतिनिधिहरूले साेमबार अखिल नेपाल फुटबल संघ-एन्फामा तालाबन्दी गरेका छन् । 

सातदोबाटोको एन्फा कम्प्लेक्सबाहिर दिनभरि नै धर्ना र रिले अनसनमा बसेका क्लब प्रतिनिधिहरूले ताला लगाएका हुन् । यससँगै एन्फामा पछिल्लो दुई हप्तामा दुईपटक तालाबन्दी भएको छ । एक हजारभन्दा धेरै दिनसम्म 'ए' डिभिजन लिग नभएको भन्दै क्लबहरूले एन्फाको विरोध गरिरहेका छन् । 

८ क्लबले सोमबार पत्रकार सम्मेलन गरेर सात बुँदामा आफ्नो धारणा प्रस्तुत गरेपछि थप विरोधका कार्यक्रमका लागि एन्फा पुगेका थिए । गत कात्तिक १७ गते भएको लिग कार्यकालिका लागू गर्नुपर्ने, लिगका लागि ट्रान्सफर विन्डो बनाउनुपर्ने, खेलाडीको श्रम स्वीकृतिमा एन्फाले सहजीकरण गर्नुपर्ने, लिगमा सहभागी क्लबको संख्या निर्धारण गर्नुपर्ने लगायत विषयमा धारण राखेका थिए । 

एन्फाका महासचिव किरण राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र क्लबका ८ प्रतिनिधिबीच वार्ता भए एन्फा पक्षले क्लबका मागमा ध्यान नदिएको फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाहले बताए । क्लबले मंगलबार पनि अनसनको कार्यक्रम जारी राख्ने उनले जानकारी दिए ।

अहिले 'ए' डिभिजन क्लबहरूले सहिद स्मारक 'ए' डिभिजन लिगको मिति सार्नुपर्नेमा जोड दिएका छन् । क्लबसँग छलफल नै नगरी एन्फाले क्लबलाई पेलेर एकतर्फी निर्णय गरेको आरोप लगाएका छन् । एन्फाको गेटमा दिनभरजसो बिताएका क्लबका प्रतिनिधिले साँझ भने तालाबन्दी नै गरेका हुन् ।

अहिले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको स्वास्थ्य ठीक नभएको कारण उनको स्वास्थ्य ठीक भएपछि फेरि वार्ता गर्ने छलफल भएको छ ।