
दाङ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनमा कुनै पनि कमीकमजोरी क्षम्य नहुने बताउनु भएको छ ।
अब पुरानो सोच र चिन्तनलाई त्यागेर अहिलेको परिस्थितिलाई आत्मसाथ गर्दै कुनै पनि कमीकमजोरी नहुनेगरी न्याय सम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी भएको उच्च अदालत तुलसीपुर र दाङ जिल्ला अदालतको अनुगमन र निरीक्षणपछि घोराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्याय सम्पादनमा फरक तरिकाले सोच्ने परिस्थिति आएको र हिजोका दिनमा कमीकमजोरी भएको भए पनि सच्याउँदै अगाडी बढ्न मातहतका निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिह राउत जेन-जी आन्दोलनका क्रममा दाङ जिल्लाको अदालतलाई क्षति हुनबाट जोगाउन मुख्य भूमिका निर्वाह गर्ने प्रहरी हबल्दार संगिता अधिकारीलाई नगद २५ हजारसहित प्रशंसापत्रले सम्मान गर्नु भयाे ।
आन्दोलनकै दिन सामाजिक सञ्जालमा सुरक्षाकर्मी संगिता र उहाँले निर्वाह गरेको भूमिकालाई देखेपछि उहाँलाई प्रत्यक्ष भेटेर सम्मान गर्ने चाहाना आज पूरा भएको भन्दै प्रधानन्यायाधीश राउतले सबैको आस्था र भरोसा रहेको न्यायालयलाई जोगाउन सबैको जिम्मेवार पूर्ण भूमिकामा रहनु पर्ने बताउनु भयो ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य नारा बोकेर भएको गत भदौ २३ र २४ को आन्दोलनमा न्यायालय मुख्य निशानामा पर्नु र देशका २३ वटा अदालत जल्नु दु:खद् भएको उहाँको भनाइ छ ।