
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालीगुराँस युथ एसोसिएसनले आफ्नो छैटौँ जित हात पारको छ ।
लालीगुराँसले प्लानिङ बोइज युनाइटेडविरुद्ध ३-२ को जित दर्ता गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा लालीगुराँस अगाडि रह्यो । पहिलो हाफमा लालीगुराँसले राज भुसालमार्फत डेडलक तोड्यो । २३औँ मिनेटमा लच्छु थापाको फ्रिकिक गोलरक्षक योगेश धिमालले विफल पारे ।
त्यसलग्त्तै, लच्छुकै कर्नरमा लालीगुराँसका अकोटे जुनियर डोनउले हेडर गोल गर्दै अग्रता फराकिलो बनाए । २९औँ मिनेटमा प्लानिङका एलेक्स विलिएनको पासमा श्याम मुर्मु चुक्न पुग्दा उसले अग्रता छोट्याउने मौका गुमायो । त्यस्तै, ३१औँ मिनेटमा प्लानिङका एलेक्सको प्रहार गोलरक्षक कुमा देउवाले विफल पारे ।
पहिलो हाफमा २-०ले पछि परेको सन्जित सिंहको टोलीले दोस्रो हाफमा पुनरागमन गर्यो । ५६औँ मिनेटमा रोमन भुजेलको फ्रिकिकमार्फत प्लानिङले अग्रता छोट्यायो । त्यस्तै, ७६औँ मिनेटमा रोमनको क्रसमा साहिल केसीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८६औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै लालीगुराँसको जित सुनिश्चित गरे । पुनरागमनको प्रयास गरेको प्लानिङले अन्तिम समयमा सम्हालिन नसक्दा हार बेहोर्नुपर्यो । जितसँगै लालीगुराँसले शीर्षस्थानमा रहेका मछिन्द्र र एपीएफसँग अकं बराबरी गरेको छ । यता, उपाधि होडमा रहेको प्लानिङको भने यो दोस्रो हार रह्यो ।
अब, प्लानिङले शुक्रबार श्रीभगवतीविरुद्ध खेल्नेछ भने, लालीगुराँसले बिहीबार चित्लाङसँग प्रतिस्पर्धा गर्नेछ ।