हिमालय क्षेत्रका विश्वविद्यालयबीच सहकार्य सुदृढ गर्न ‘काठमाडौं रिट्रीट’ आयोजना हुँदै

चैत्र ३, २०८२ |पुजन धिताल
हिमालय क्षेत्रका विश्वविद्यालयबीच सहकार्य सुदृढ गर्न ‘काठमाडौं रिट्रीट’ आयोजना हुँदै

काभ्रे । काठमाडौं विश्वविद्यालयको नेतृत्वमा हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यसहित ‘काठमाडौं रिट्रीट’ आयोजना हुने भएको छ। 

हिमालयन युनिभर्सिटी कन्सोर्टियम (एचयूसी) अन्तर्गतका सदस्य विश्वविद्यालयहरूको सहभागितामा चैत १५ र १६ गते काठमाडौंमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो। काठमाडौं विश्वविद्यालयका अनुसार रिट्रीटले हिमालय क्षेत्रका साझा चुनौतीहरूमा शैक्षिक तथा अनुसन्धानगत सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। 

कार्यक्रममा १०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ भने ३० भन्दा बढी विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवाला सहभागी हुनेछन्। रिट्रीटमा नेपालसहित बङ्गलादेश, चीन, भारत र भुटानका विश्वविद्यालयहरूको सहभागिता रहनेछ। 

सहभागीहरूले हिमालय क्षेत्रका प्रमुख मुद्दाहरू-जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, दिगो विकास तथा क्षेत्रीय सहकार्यका विविध आयाममा केन्द्रित रहेर छलफल गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विश्वविद्यालयहरूबीच ज्ञान आदान–प्रदान, संयुक्त अनुसन्धान, शैक्षिक सहकार्य तथा नीति निर्माणमा योगदान पुर्‍याउने विषयमा विशेष जोड दिइनेछ। 

यसले हिमालय क्षेत्रका विश्वविद्यालयहरूलाई साझा मञ्चमा उभ्याउँदै दीर्घकालीन सहकार्यको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। रिट्रीटको अन्तिम दिन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ। उक्त घोषणापत्रले आगामी दिनमा हिमालय क्षेत्रका शैक्षिक संस्थाहरूबीच सहकार्यका प्राथमिकता र रणनीति निर्धारण गर्ने विश्वास लिइएको छ।

सन् २००७ मा स्थापना भएको हिमालयन युनिभर्सिटी कन्सोर्टियम हिमालय–हिन्दुकुश क्षेत्रका विश्वविद्यालयहरूको साझा सञ्जाल हो। यसको प्रारम्भ एसीमाेडमा भएको थियो भने हाल यसको सचिवालय काठमाडौं विश्वविद्यालयमा रहेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।