इङ्लिस प्रिमियर लिगमा आज राति लिभरपुल र टोटनह्याम हट्सपर भिड्दै

चैत्र १, २०८२ |खेल ब्युरो
इङ्लिस प्रिमियर लिगमा आज राति लिभरपुल र टोटनह्याम हट्सपर भिड्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुल र टोटनह्याम हट्सपरबीच एन्फिल्डमा ३०औँ चरणको खेल हुँदैछ । 

यो खेल आइतबार राति १० बजे सुरू हुनेछ । गत सिजन यही मैदानमा टोटनह्यामलाई ५-१ ले पराजित गर्दै लिभरपुलले आफ्नो २०औँ प्रिमियर लिग उपाधि जितेको थियो । त्यसैले यो रंगशालामा टोटेनहमका लागि हुने खेल विशेष महत्त्वको रहनेछ । पछिल्लो समय लिभरपुलको प्रदर्शन मिश्रित छ । 

सन्डरल्यान्ड, नटिङघम फरेस्ट र वेस्ट ह्याम युनाइटेडलाई लगातार हराउँदै लयमा फर्किएको टोली मार्च ३ मा वुल्भ्ससँग १-० ले पराजित भएको थियो । यदि आइतबार लिभरपुल पराजित भयो भने यो सिजनको प्रिमियर लिगमा उसको १०औँ हार हुनेछ । जुन पछिल्लो दशककै कमजोर सिजन घोषित हुनेछ । तर, यद्यपि घरेलु मैदानमा टोटनह्यामविरूद्धको खेल अहिले प्रायः टोलीका लागि सहज छ । 

किनभने टोटनह्यामको प्रदर्शन निकै कमजोर देखिन्छ । टोटनह्यामले पछिल्ला ६ खेलमा एक बराबरी खेलेको छ भने बाँकी खेलमा हार बेहोरेको छ । खराब नतिजाका कारण प्रशिक्षक इगोर टुडोरमाथि पनि दबाब बढ्दै गएको छ । प्रिमियर लिग तालिकामा १६औँ स्थानमा रहेको टोटनह्याम रेलिगेसन संघर्षमा छ । 

वेस्ट ह्याम र नटिङ्घम फरेस्टभन्दा मात्र एक अंकले अघि रहे पनि गोल अन्तर राम्रो भएकाले यो साताको अन्त्यमा उनीहरू पुछारका तीन टोलीमा झर्ने सम्भावना कम छ। लिभरपुलले भने टोटनह्यामविरूद्ध पछिल्ला १६ प्रिमियर लिग खेलमध्ये १२ जितको तथ्यांकले घरेलु टोलीलाई थप आत्मविश्वास दिएको छ। 

लिभरपुलका गोलकिपर एलिसन बेकरले मांसपेशीको चोटका कारण पछिल्लो खेल गुमाएका थिए। फेडेरिको किएजा पनि इन्ज्युरीपछि टोलीमा फर्किने आशा छ। तर जियोभान्नी लियोनी, कोनोर ब्राड्ली, वातारू एन्डो र अलेक्जान्डर इसाक भने अझै घाइते सूचीमै छन्। टोटनह्यामतर्फ भने चोट र निलम्बनको समस्या अझ ठूलो छ।