
झापा । झापाको भद्रपुरमा आजबाट सुरु भएको चन्द्रगढी महिला गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
उद्घाटन खेलमा आर्मीले आरएस पोखरा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सुरुदेखि नै आर्मीले दबाब बनाएको खेलमा दीपा शाहीले ११औँ मिनटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । यसपछि २६औँ मिनेटमा विमला चौधरीले अग्रता दोब्बर पारिन् ।
त्यसको दुई मिनेटपछि विमलाले ब्रेस पूरा गरिन् भने ३५औँ मिनेटमा चन्द्र भण्डारीले गोल गरेपछि आर्मी पहिलो हाफमै ४ गोलले अघि भयो । ५०औँ मिनेटमा जेनिफर राना मगरले टिमका लागि पाँचौँ गोल थपिन् । ६३औँ मिनेटमा चन्द्रले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी ६-० गोलको फराकिलो अन्तरले विजयी भयो ।
प्रतियोगितामा आइतबार चर्च बोइज युनाइटेड र भुटानको थिम्पु सिटी फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् । गोल्डकपको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।