रूकुमपूर्वमा पुथाउत्तरगंगा गाउँपालिका विभाजनको माग फेरि उठ्यो

वैशाख ६, २०८३ |महेश केसी
रूकुमपूर्वमा पुथाउत्तरगंगा गाउँपालिका विभाजनको माग फेरि उठ्यो

रूकुमपूर्व । रूकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकालाई छुट्टयाएर छुट्टै पालिका बनाउन माग गरिएको छ । 

विगतदेखि नै पालिका अलग गर्ने विषयमा कुरा उठ्दै आएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रपछि यो विषय फेरि सतहमा आएको हो । रूकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकालाई दुई भागमा विभाजन गरेर नयाँ पालिका बनाउन माग गरिएको छ । 

जम्मा १४ वटा वडा रहेको यस पालिकाका वडा नम्बर १ देखि ६ र ९ नम्बर गरी ७ वटा वडालाई छुट्टै पालिका बनाउन पर्ने स्थानीयको माग छ । गत बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवालालाई एकमुष्ट सम्बोधन गरेर "गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड २०८३" को प्रारम्भिक मस्यौदामाथि राय/सुझाव भएमा ३ दिनभित्र ईमेल गर्न' पत्राचार गरेपछि पुथाउत्तरगंगा गाउँपालिकालाई दुई भागमा विभाजन गर्ने मागलाई अधिकारिकता दिने तयारी गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३,५,६,७ र ८ मा भएको व्यवस्थाको आधारमा गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाउँपालिका वा नगरपालिका एकापसमा गँभिने र नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित गर्न आवश्यक भएको भन्दै संघीय मामिला मन्त्रालयबाट गाउँपालिकाको सीमाना हेरफेर र पुनरावलोकन गर्ने विषयमा तयार मापदण्ड तयार पारिएपछि अब यस पुथाउत्तरगंगालाई फोडेर नयाँ पालिका बनाउन सहज हुने ठानिएको छ । 

पुथा र उत्तरगंगालाई दुई फरक-फरक पालिका बनाउनेबारे स्थानीय तहको आघिल्लो कार्यकालमै विभिन्न चरणमा छलफल भएको पूर्वजनप्रततिनिधि बताउँछन् । संघीयतापछि साविक रूकुमबाट छुट्टिएर रूकुमपूर्व नयाँ जिल्ला बनेको थियो । यस जिल्लामा हाल पुथाउत्तरगंगासहित सिस्ने र भुमे गरी ३ वटा गाउँपालिका रहेका छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले अहिले संघीय मामिला मन्त्रालयले तयार पारेको मस्यौदामाथि माग गरेको सुझावसँगै पालिकाको अवस्थाको समेत विश्लेषण गरी पठाइने बताउनुभएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।