
दाङ । लुम्बिनी प्रदेशसभाले बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
आइतबार बसेको सातौं अधिवेसनको १२औं बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेको उक्त विधेयक दफावार छलफलकालागि समितिमा पठाइएको हो ।
त्यसैगरी, आइतबारको बैठकमा प्रदेश मामिला तथा कानुन समितिको वार्षिक प्रतिवेदन पनि सभामा पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रदेशले बनाएका कानुनहरुको कार्यान्वयनको अवस्था, बनेका कानुनहरुको उत्तर विधायकी परिक्षणलगायतका कुराहरु समेटिएको समितिको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्नु भएको हो ।
यसैगरी बागमती प्रदेशसभाको बैठक अर्को सुचना नभएसम्मको लागि स्थगित भएको छ । आइतबार बसेको बागमती प्रदेशसभाको बैठकमा दुईवटा विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत भएसँग उपसभामुख अप्सरा चापागाईंले अर्को सुचना नभए सम्मको लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।