लुम्बिनीमा चैते धानतर्फ किसानको आकर्षण बढ्दै, मल अभाव अझै चुनौती

वैशाख ६, २०८३ |अमर क्षितिज भण्डारी
लुम्बिनीमा चैते धानतर्फ किसानको आकर्षण बढ्दै, मल अभाव अझै चुनौती

दाङ । बाँझो जमिनको उपयोग गर्दै खाद्यान्न उत्पादन बढाउने उद्देश्यले लुम्बिनी प्रदेशका दाङसहित १० जिल्लामा पछिल्लो चैते धानको खेती हुन थालेको छ । 

सिँचाइ सुविधामा पहुँच पुग्न थालेसँगै बर्खे धान मात्रै खेती गर्ने र गर्मीमा खाली बस्ने किसानहरू चैते धान खेतीमा लागेका हुन् । किसानहरूको चैते धानप्रतिको आकर्षणलाई हेरेर स्थानीय सरकारले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन थालेका छन् । 

खेतसँगै सटेको कुलामा बाह्रैमास पानी चल्छ । तर, दाङको तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टीका प्रमोदमणि देवकोटाको ५ बिघाको यो खेत यो सिजनमा पहिले बाँझै हुन्थ्यो । तर, यसपटक भने वैशाखको टन्टलापुर घाममा देवकोटाको खेतमा ट्रयाक्टरले जोतिरहेको, बाउसेले आलीकुना गरिरहेको र रोपाहारहरू रोपाइँ गरिरहेको गज्जबको दृष्य हेर्न पाइन्छ । 

देवकोटाले चैते धान लगाएको हेर्न र सहयोग गर्न छरछिमेकका मानिसहरूसमेत खेतभरि देखिन्छन् । किसानको मुख्य समस्या रासायनिक मलकै हो । समयमा मलकै नपाएकै कारण धेरै किसानले चाहेको बाली लगाउन र आम्दानी गर्न सकेका छैनन् । 

त्यहीँ अवस्थालाई बुझेर आफूहरूले वास्तविक किसान पहिचान गरी रासायनिक मल उपलब्ध गराएकाले चैतेधान खेती गर्नेहरू बढ्न थालेको किसान सहकारीहरूको दाबी छ । सहकारीको साथ पाएपछि उत्साहित भएका किसानले चैते धान लगाउँदा गर्मीमा घरमै बसेर दिन कटाउनेहरूले रोजगारी पाएका छन् ।

केही वर्ष पहिलेसम्म दाङमा ५ सय हेक्टरमा चैते धान खेती हुने गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन कार्यक्रम लागू भएपछि भने देउखुरीमा चैते धान लगाउनेहरू घटेका छन् बरु अन्यत्र यसको खेती विस्तार हुन थालेको छ । 

जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता स्थानीय तहहरूले गरेका छन् । बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका १२ मध्ये रोल्पा र रूकुमबाहेक १० जिल्लामा चैते धानको खेती हुने गरेको छ । 

प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को तथ्याङकअनुसार प्रदेशभर १ हजार ६०५ हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने ७ हजार ५१६ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । सबैभन्दा धेरै बर्दियामा ६७९ हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने सबैधन्दा कम पश्चिम नवलपरासीमा ७ हेक्टरमा चैते धानको खेती हुने गरेको छ। 

सरकारले सिँचाइ विस्तार, उन्नत बीउ उपलब्धता र प्रविधि प्रयोगमा जोड दिए चैते धान खेती अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। किसानलक्षित अनुदान र प्राविधिक सहयोगमार्फत चैते धान प्रवर्द्धन गर्नुपर्ने आवश्यकता सरोकारवालाले औंल्याएका छन्।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।