इलाम गोल्डकपमा पथरी एफसीको विजयी सुरुआत

वैशाख ५, २०८३ |खेल ब्युरो
इलाम गोल्डकपमा पथरी एफसीको विजयी सुरुआत

इलाम । पुरस्कार राशिको हिसाबले पूर्वीपहाडकै प्रतिष्ठित इलाम गोल्डकप शनिबारबाट सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरङको पथरी एफसीले विजयी सुरुआत गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नियमित सयममा दुवै टिमले १-१ गोलको बराबरी गरेका थिए । 

खेलको तेस्रो मिनेटमा सन्देश खवासको गोलमा रेडहर्सले अग्रता बनाएको थियो । तर, दोस्रो हाफको अतिरिक्त समयमा सूर्य राउतले गोल फर्काएपछि पथरी एफसी खेललाई टाइब्रेकरमा धकेल्न सफल भएको थियो । यसपछि पेनाल्टी सुटआउटमा पथरीका लागि आशिष लावती, अनिल मगर, युकेश तामाङ र पदम भट्टराईले गोल गर्दा राम माझीको प्रहार इलामका गोलरक्षक विवेक मगरले बचाए । 

इलामका लागि विवेक सुनाम र रोमन जोगीले मात्र गोल गर्न सके । वैशाख १२ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको दोस्रो खेलमा आइतबार पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापाको रोलिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।