
सुनसरी । जिल्लाको इनरुवामा महिला राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ ।
सुनसरी जिल्ला खेलकुद क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २६ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । अखिल नेपाल कबड्डी संघको समन्वयमा हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टिम गरी कुल १० टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ। दोस्रो हुने टिमले ५० हजार र तेस्रो स्थान हासिल गर्ने दुई टोलीले समान २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल लागत करिब ४५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
उक्त रकम राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह तथा विभिन्न संघ-संस्थाबाट व्यवस्थापन गरिने लक्ष्य रहेको छ । प्रतियोगिता अखिल नेपाल कबड्डी संघको नियमअनुसार सञ्चालन हुने र लिग कम नकआउट प्रणालीमा खेलाइने छ ।