
पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सम्पन्न छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल प्रतियोगिता २०८२ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
शनिबार पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताबाट भएको आम्दानी, खर्च र नाफाको विस्तृत विवरण सार्वजनिक गरेका हुन् । टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार विभिन्न स्रोतबाट कुल १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ संकलन भएको थियो ।
प्रतियोगिता सञ्चालन, खेलाडी व्यवस्थापन, पुरस्कार, प्रचारप्रसार, प्राविधिक व्यवस्थापन, आवास तथा अन्य प्रशासनिक गरी कुल १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । समग्रमा प्रतियोगिताबाट करिब २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ नाफा भएको छ ।
आयोजकका अनुसार नाफाबापतको रकम खेलकुद विकास तथा सामाजिक गतिविधिमा खर्च गरिनेछ । माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगितामा महिला तथा पुरुष गरी ११ टिमको सहभागिता थियो । महिलातर्फ टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ च्याम्पियन बनेको थियो ।