
धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्नै विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ।
मंगलबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा बमलाई एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको हो। शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजले जनाएको छ।
लोकेश बम एसपीए कलेजका विद्यार्थीसमेत हुन्। उनी नेपाली क्रिकेटका उदाउँदा प्रतिभाशाली विकेटकिपर–ब्याट्सम्यानका रूपमा परिचित छन्। हालै सम्पन्न विश्वकप छनोटसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनले सुदूरपश्चिम प्रदेश तथा राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्याएका छन्।
कलेजमा अध्ययनरत रहँदै उनले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। निरन्तर मिहिनेत, अनुशासन र उपलब्धिका कारण उनी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडीका रूपमा स्थापित भएका छन्। ब्रान्ड एम्बासडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै बमले आफू अध्ययन गरेको कलेजसँग यसरी जोडिन पाउँदा खुशी लागेको बताए।
उनले एसपीए कलेजले सधैं विद्यार्थीहरूलाई उत्साहित गर्दै आएको उल्लेख गर्दै आजको अवसरका लागि कलेजका प्रबन्ध निर्देशक सुवास शाहीप्रति धन्यवाद व्यक्त गरे। यस्ता कार्यक्रम र अवसरले आफूलाई थप प्रेरणा मिल्ने उनले बताए। बमले एसपीए कलेजले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीहरूलाई सकारात्मक वातावरण प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रेरित गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा क्याम्पस प्रमुख बुधराम चौधरीले एसपीए कलेज शिक्षा र खेलकुद दुवै क्षेत्रमा अग्रसर संस्था भएको उल्लेख गर्दै विद्यार्थीहरूको सफल भविष्यका लागि सबै खेल र विधाका प्रतिभालाई समान महत्वका साथ अवसर प्रदान गरिँदै आएको बताए।
कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि बमलाई ब्रान्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए। उनले बमको सफल यात्राले कलेजका विद्यार्थीहरूलाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
सोही अवसरमा लोकेश बम र विद्यार्थीहरूबीच प्रेरणादायी प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। यसअघि पनि एसपीए कलेजले नारायण जोशी, कविता कुँवर र शेर मल्ललगायत क्रिकेट खेलाडीहरूलाई कलेजको ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरिसकेको छ। कलेजले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता पहललाई निरन्तरता दिने जनाएको छ।