पश्चिम एसियाली द्वन्द्वले आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्योलग्रस्त

फाल्गुन १९, २०८२ |खेल ब्युरो
पश्चिम एसियाली द्वन्द्वले आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्योलग्रस्त

काठमाडौं । पश्चिम एसियाली मुलुकहरूमा विकसित पछिल्लो घटनाक्रमका कारण आगामी फागुन २६ गतेबाट नेपालमा हुने भनिएको आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्योलग्रस्त भएको छ । 

नेपालले घरेलु मैदानमा ओमान र यूएईसँग खेल्ने तालिका छ । आगामी शुक्रबारसम्म सिरिजका लागि ओमान र यूएई काठमाडौं आइपुग्ने तालिका छ । तर, इरानी ड्रोन र मिसाइल आक्रमणका कारण यूएई र ओमानको हवाई क्षेत्र बन्द छ ।

नेपाल क्रिकेट संघ-क्यानले पनि अहिलेसम्म सिरिजबारे नयाँ अपडेट प्राप्त नभएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌-आईसीसीले भने बुधबारसम्ममा केही निर्णय गर्न सक्ने बताइएको छ । यूएईको क्रिकेट बोर्डले पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

यता नेपाली टिम भने अहिले बन्द प्रशिक्षणमा छ । पहिलो चरणको बन्द प्रशिक्षणमा २० खेलाडी बोलाइएको छ । नेपाल २० खेलबाट १२ अंक जोड्दै लिग टुमा तालिकाको सातौँ स्थानमा छ । १० अंकका साथ यूएई अन्तिम स्थानमा छ भने चौथो स्थानमा रहेको ओमानको २४ अंक छ ।