.png&w=1000&height=550)
काठमाडौं । एन्फा राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले नव जनजागृति युवा क्लबलाई ३-० ले हराएको छ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा लिग टेबलको पुछारमा रहेको जन जागृतिविरुद्ध आर्मीले सहज जित हात पारेको हो। खेलको नवौं मिनेटमा पोस्टको दायाँ साइडबाट जनजागृतिका निमेश चौधरीले जिलेस्पीजंग कार्कीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा पाएको अवसरमा गोल गरेर जर्ज प्रिन्स कार्कीले आर्मीका लागि अग्रता दिलाएका थिए। पेनाल्टीमा बनाएको अग्रताबाट आर्मीले पहिलो हाफ १-० मा समाप्त गरेको थियो। पहिलो हाफको अन्तिममा जनजागृतिका संजय चौधरीले क्लियर गरेपछि पहिलो हाफमा थप गोल हुन सकेन्।
दोस्रो हाफको ५४औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाएका थिए। निर्धारित समयको १५ मिनेट बाँकी रहँदा कुन्साङ लामाले खेललाई ३-० मा समाप्त गरेर आर्मीलाई जित दिलाउन सहयोग गरे। जारी प्रतियोगितामा नवयुगले पाँचौ गोल गरेका हुन् भने जर्ज प्रिन्स कार्की र कुन्साङ लामाले सिजनको पहिलो गोल गरेका हुन्।
लिगको आधा सिजन सकिँदा पनि जनजागृति जितविहिन रहेको छ। उसले, ८ मध्ये आठ खेलमा नै हार ब्यहोरेको छ। त्यसैगरी, आर्मीले भने लिगमा पाँचौ जित हात पार्यो। लिगमा उसले ८ खेलमा पाँच जित र दुई बराबरीसँगै १७ अंक बनाएको छ। राष्ट्रिय लिगको विजेता टोलीले एएफसी कपको छनोट खेल्न पाउने भएका कारण यो शीर्षस्थानको प्रतिस्पर्धा भने केही पेचिलो बन्दै गएको छ।