विश्वकप खेलेका दुई क्रिकेटरलाई जनही एक-एक लाखसहित एसपीएले गर्‍याे सम्मान

फाल्गुन १५, २०८२ |टेकराज जोशी
विश्वकप खेलेका दुई क्रिकेटरलाई जनही एक-एक लाखसहित एसपीएले गर्‍याे सम्मान

धनगढी । भारतको मुम्बईमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपमा नेपाली राष्ट्रिय टोलीबाट सहभागी भएका सुदूरपश्चिमका दुई क्रिकेटरलाई धनगढीस्थित एसपीए कलेजले नगदसहित सम्मान गरेको छ ।

कलेजका विद्यार्थी लोकेश बम र कलेजका ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहबीच जनही एक लाख एक हजार रूपैयाँसहित ‘एसपीए सम्मान’ प्रदान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. हेमराज पन्त र कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । जारी विश्वकपमा दुवै खेलाडीको प्रदर्शन उल्लेखनिय रहेको थियो। इंग्ल्यान्डविरूद्ध लोकेशले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनको सानदार पारी खेल्दै नेपाललाई जितनजिक पुर्‍याएका थिए । 

त्यस्तै, आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै शेर मल्लले विकेट लिएका थिए । सम्मान कार्यक्रममा बोल्दै लोकेशले एसपीए कलेजमा अध्ययनरत रहँदा अनुशासन र मेहनतका साथ अघि बढ्न पाएको अनुभव सुनाए । उनले विद्यार्थीलाई लक्ष्यप्रति समर्पित रहन आग्रह गरे । 

कार्यक्रममा लोकेशकी आमाले छोराको उपलब्धीप्रति गर्व व्यक्त गर्दै कलेज परिवारलाई धन्यवाद दिइन् । एसपीए कलेजमा हाल दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध रहेका छन् । कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘एसपीए सम्मान’ प्रदान गर्दै आएको जनाएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।