दोस्रो महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिम र गण्डकीकाे जित

फाल्गुन ६, २०८२ |खेल ब्युरो
दोस्रो महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिम र गण्डकीकाे जित

काठमाडौं । दोस्रो महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिम र गण्डकीले जित हात पारेका छन् ।

पुरूषतर्फ सुदूरपश्चिमले मधेसलाई ३-० गोलअन्तरले पराजित गर्यो । सुदूरपश्चिमका भरत टमाटाले पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि महेश नेपालीले चौथो र ४५औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यस्तै महिलातर्फ भने सुदूरपश्चिम १-० गोलले गण्डकीसँग पराजित भयो । गण्डकीकी अंकिता अधिकारीले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई जिताइन् । यसैगरी, पुरूषतर्फकै अर्को खेलमा गण्डकीले बागमतीलाई ३-१ ले पराजित गर्‍यो । बागमतीका जेम्स पेरी श्रेष्ठले ४०औँ मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन । 

गण्डकीका लागि विवेक गुरुङले ९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ३९औँ मिनेटमा विशाल कुमार र ६०औँ मिनेटमा मोहन पुनले थप गोल गर्दै जित पक्का गरेका थिए । बुधबारका खेलहरूको नतिजापछि पुरूषतर्फ गण्डकी र सुदूरपश्चिम दुवैले अपराजित रहँदै समान ६ अंक जोडेका छन् । त्यसैगरी, महिलातर्फ गण्डकी नै ६ अंकका साथ शीर्ष स्थानमा छ ।