सुपर- ८ मा पुग्ने नेपालको सपनामा पूर्णविराम

फाल्गुन ३, २०८२ |खेल ब्युरो
सुपर- ८ मा पुग्ने नेपालको सपनामा पूर्णविराम

काठमाडौं । सहभागीका रूपमा मात्र सीमित नहुने र सुपर ८ मा पुग्ने कप्तान रोहित पौडेलको दाबीका बावजुद आईसीसी टी-२० विश्वकपमा इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगको पराजयपछि एक खेलअगावै नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

पछिल्ला दुई खेलको प्रदर्शनले एकातिर समर्थकलाई निराश त बनायो नै, अर्कोतिर नेपालले केही राम्रा अवसरसमेत गुमाएको छ । जारी टी-२० विश्वकपमा नेपाल सुपर ८ मा पुगेको हुन्थ्यो भने सन् २०२८ मा अस्ट्रेलिया र न्यूजील्यान्डले आयोजना गर्ने विश्वकपका लागि सीधैं छनोट हुन्थ्यो । तर यो सम्भावना अब सकिएको छ । 

आइतबार वेस्ट इन्डिजसँगको हारसँगै नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अब अर्को विश्वकपमा स्थान बनाउन नेपालले छनोट चरणहरू पार गर्दै पुनः आफ्नो दाबेदारी प्रस्तुत गर्नुपर्नेछ । तर नेपालले यति मात्र गुमाएको छैन । सहभागी टोलीको संख्या बढी हुने भएकाले टी-२० विश्वकप नेपालजस्तो एसोसिएट टोलीका लागि टेस्ट राष्ट्रविरुद्ध खेल्ने दुर्लभ अवसरसमेत हो । 

सुपर ८ मा पुगेको भए पूर्ण सदस्य राष्ट्रसँग सिरिज नै खेल्ने सम्भावना पनि रहन सक्थ्यो । तर यो सम्भावनामाथि अब संकट त मडारियो नै, टेस्ट राष्ट्रविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अर्को अवसरका लागि पनि थुप्रै सिँढी उक्लनुपर्ने भएको छ । नेपाललाई अब लगातार दुई विश्वकपमा जितविहीन हुने अर्को जोखिमले पनि पछ्याइरहेको छ । 

सन् २०१४ मा हङकङ र अफगानिस्तानविरूद्ध जित हात पारे पनि सन् २०२४ मा नेपाली टोली शून्य अंकसहित देश फर्किएको थियो । यसपटक आफ्ना चारमध्ये तीन खेलमा हार बेहोरिसकेको नेपालले अब स्कटल्यान्डविरुद्ध मात्रै जित्नसक्ने सम्भावना छ । जुन, सान्त्वना मात्रै हुनेछ ।

जारी विश्वकपको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध इतिहास बनाउन जम्मा ४ रनले चुक्दा नेपाल क्रिकेट वृत्तकै चर्चाको केन्द्रमा पुगेको थियो । उक्त नतिजासँगै नेपालले यस विश्वकपमा ठूलो उलटफेर गर्ने क्रिकेट विश्लेषकहरूको विश्वास थियो । तर लगत्तै इटालीसँगको १० विकेटको लज्जास्पद हारपछि ती सबै विश्लेषण गलत साबित भए । 

वेस्ट इन्डिजसँगको खेलमा त टी-२० विश्वकप इतिहासकै सबैभन्दा कमजोर र सुस्त सुरुआतको खराब कीर्तिमानसमेत नेपालको नाममा दर्ता भयो । आईसीसीले यस विश्वकपको सम्पूर्ण पुरस्कार रकम सार्वजनिक गरेको छैन । तथापि २०२४ को संस्करणमा सुपर ८ बाट बाहिरिएका टोलीले २ लाख ४७ हजार ५ सयदेखि ३ लाख ८२ हजार ५ सय डलरसम्म पाएका थिए । 

समूह चरणको प्रत्येक जितका लागि ३१ हजार १ सय ५४ डलर दिइएको थियो । सुपर ८ मा पुग्न नसक्दा नेपालले बेहोरेको यो अर्को क्षति हो । साथै वरीयताअनुसार प्राप्त हुने अन्य रेभिन्यू पनि अब घट्नेछ । विश्वकप विश्वभरका फ्रेन्चाइज टोलीको नजरमा रहने मञ्च पनि हो । 

खेलाडीको उत्कृष्ट प्रदर्शन लिग क्रिकेटमा स्थान बनाउने अवसर पनि हो । हालै दीपेन्द्रसिंह ऐरी पीएसएल टोली इस्लामावाद युनाइटेडमा आबद्ध हुनु त्यसैको उदाहरण हो । तर प्राप्त असफलताले टेस्ट मान्यता कमाउने नेपालको महत्त्वाकांक्षी लक्ष्यमा समेत गहिरो असर परेको छ ।