
पोखरा । २०औँ संस्करणको पोखरा म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरीउकी वाहोमले जितेका छन् ।
शनिबार पोखरा रंगशालाबाट सुरू भएको म्याराथनमा वाहोमले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी दुई घन्टा २३ मिनेट ३९ सेकेन्डमा पूरा गरेर उपाधि जितेका हुन् । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान त्रिभुवन आर्मीका धावक गजेन्द्र राईले प्राप्त गरे ।
गजेन्द्रले दूई घन्टा २४ मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका हुन् । तेस्रो स्थानमा नेपालकै हरि कुमार रिमाल आए । उनले दुई घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गरे । प्रतियोगितामा पुरुषतर्फ विजेता वाहोमले नगद चार लाख, दोस्रो हुने गजेन्द्रले दुई लाख र तेस्रो स्थान हासिल गरेका हरिकुमारले एक लाख पुरस्कार पाएका छन् ।
यस्तै, हाफ म्याराथनमा पुरूषतर्फ आर्मीका सञ्जय श्रेष्ठले जिते । उनले एक घन्टा ८ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरे । ११ सेकेन्डले पछि परेका नगेन्द्र सिंह राउत दोस्रो भए । महिलातर्फ हाफ म्याराथनको उपाधि नेपालकी ओलम्पियन सन्तोषी श्रेष्ठले हात पारिन् ।
उनि अघिल्लो संस्करणको विजता समेत हुन् । उनले गत वर्ष भन्दा २४ सेकेन्ड छिटो दुरी पार गरिन् । गत वर्ष एक घन्टा २० मिनेट ३० सेकेन्डमा दुरी पार गरेकी सन्तोषीले यस पटक एक घन्टा २० मिनेट ६ सेकेन्डमा सोहि दुरी पार गरिन् । दास्रो भएकी निशा सार्कीले सोहि दुरी पार गर्न एक घन्टा २१ मिनेट २५ सेकेन्ड लगाइन ।
तेस्रो भएकी राज्यलक्ष्मी रावलले एक घन्टा २६ मिनेट १० सेकेन्डमा पूरा गरिन् । म्याराथनमा नेपालसहित अमेरिका, बेलायत, न्यूजील्यान्ड, केन्या, नाइजेरिया, बेल्जियमलगायत देशका धावकहरूको सहभागिता थियो ।