
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को २३औं खेलमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र लखनऊ सुपर जायन्ट्स आमनेसामने हुँदैछन् ।
खेल बैंगलुरुको चिन्नास्वामी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुनेछ । साबिक विजेता बैंगलुरु यो सिजन पनि उत्कृष्ट लयमा देखिएको छ । उसले ४ मध्ये ३ खेल जितेको छ । बुधबारको खेलमा जित हात पार्दै उ तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।
अर्कोतर्फ लखनऊले ४ खेलमध्ये २ खेल मात्र जितेको छ र अंक तालिकामा सुधार गर्ने योजनासहित मैदान उत्रनेछ । बैंगलुरुका लागि कप्तान रजत पाटीदार, विराट कोहली र फिल सल्ट राम्रो र्फममा देखिएका छन् । पाटीदारले २ अर्धशतकसहित १ सय ९५ रन बनाइसकेका छन् र उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।
बलिङतर्फ जेकब डफी प्रमुख विकेट टेकरका रूपमा देखिएका छन् । लखनऊको भने ब्याटिङ अझै कमजोर देखिएको छ । कुनै पनि ब्याटरले हालसम्म सबै इनिङ्स गरी १ सय १० रनको आँकडा पार गर्न सकेका छैनन् । कप्तान ऋषभ पन्तले एक मात्र अर्धशतक बनाएका छन् ।
यद्यपि बलिङतर्फ प्रिन्स यादव र मोहम्मद शमीले प्रभावशाली प्रदर्शन गरेका छन् । आईपीएलमा दुवै टोलीबीच हालसम्म ६ खेल भएका छन् । जसमा बैंगलुरुले ४ खेल जितेको छ भने लखनऊले २ खेल जितेको छ । तर, बैंगलुरुले घरेलु मैदानमा लखनऊलाई पराजित गर्न सकेको छैन ।
चिन्नास्वामी स्टेडियम उच्च स्कोरिङ मैदान मानिन्छ । यस सिजन यहाँ भएका दुवै खेलमा २ सयभन्दा बढी रन बनेका छन् । एक खेलमा बेंगलुरुले २ सय ५० रन समेत बनाएको थियो।