त्रिभुवन आर्मी अपराजित रहँदै प्रधानमन्त्री कपकाे फाइनलमा

वैशाख २, २०८३ |विनयज्योति सापकोटा
त्रिभुवन आर्मी अपराजित रहँदै प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार जनकपुरको श्रीराम जानकी बहुउद्देश्य रंगशालामा लुम्बिनी प्रदेशलाई एक विकेटले हराएर आर्मी लिग चरणमा अपराजित रहेको हो। पहिले ब्याटिङ रोजेको लुम्बिनीले ३९ ओभर दुई बलमा नै सबै विकेट गुमाएर एक सय ३८ रन बनायो। 

आर्मीका कुशल मल्लले चार विकेट लिएपछि आर्मीको मध्यक्रम कोल्याप्स भएको हो। ओपनर रन्जित खड्काले २८ रनको योगदान दिए भने प्रज्वल थापा १५ रनमा क्लिन बोल्ड भए। देव खनालले २३ रन जोड्न सके। पाँचौ नम्बरका आकाश त्रिपाठीको नाममा २१ रन रह्यो।

कुशलले ८ ओभर बलिङ गरेर चार विकेट लिँदा नरेन साउद र भीम सार्कीले समान २-२ विकेट बाँडेका थिए। जवाफमा आर्मीले उत्कृष्ट सुरुआत गर्न नसकेको भए पनि २५ ओभर २ बलमा नौ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। विनोद भण्डारी शून्य र तृत राज दाश १० रनमा नै आउट भए। भीम सार्कीले १८, कुशल मल्लले ४१ र अर्जुन साउदले २८ रनको योगदान गरेर इनिङ उकासेका थिए।

लुम्बिनीका सन्तोष यादव र निर्मल गुरुङले बलिङमा प्रभावशाली पार्टनरसीप गरे। निर्मलले शीर्षक्रमका तीन विकेटसहित समग्रमा चार विकेट लिए। सन्तोषले पछिल्लो क्रमका पाँच विकेट लिएर खेललाई नियन्त्रणमा राखेका थिए। उनले ६ ओभर बलिङ गरेर २५ रन मात्रै खर्च गर्दै पाँच विकेट लिएका हुन्। 

यद्यपि उनीहरुले आर्मीको जित रोक्न सकेनन्। जारी प्रतियोगितामा यो नै आर्मीको सबैभन्दा साँघुरो जित हो। पराजयका बाबजुद लुम्बिनी प्रदेश जय ट्रफीमा छनोट भएको छ। प्रधानमन्त्री कपको शीर्ष ६ टोलीको टुङ्गो लागेसँगै आगामी सिजन जय ट्रफी दुई दिवसीय मेन्स इलाइट कप खेल्ने सबै टोलीको छनोट भएको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।