
काठमाडौं । युएफा च्यामियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा बुधबार जर्मन टोली बायर्न म्युनिखले स्पेनिस क्लब रियाल मड्रिडलाई स्वागत गर्दैछ ।
एलियान्ज एरिनामा खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो लेगमा २-१ को जितसहित एक गोलको अग्रता बनाएको बायर्न सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । रियाललाई अन्तिम चारमा स्थान बनाउन कम्तिमा २ गोल अन्तरको पुनरागमन जित आवस्यक हुनेछ ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि डिफेन्डिङ च्यनाम्पियन पेरिस सेन्ट जर्मेन-पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख उत्कृष्ट लयमा छ । सबै प्रतियोगितामा लगातार १५ खेलमा अपराजित टोली उच्च आत्मविश्वासमा देखिएको छ ।
बायर्नले सन् १९७१-७२ को आफ्नै गोल रेकर्ड तोड्दै यो सिजन १ सय ५ गोल गरिसकेको छ । रियाल भने पछिल्ला खेलहरूमा संघर्ष गरिरहेको छ । उ पछिल्ला तीन खेलमा जितविहीन छ । यो खराब लय मालोर्काविरुद्धको २-१ हारबाट सुरु भएको थियो ।
त्यसपछि बायर्नसँग घरेलु मैदानमै २-१ ले पराजित भयो । अन्तिम खेलमा जिरोनासँग १-१ को बराबरीमा रोकिएपछि लालिगाको उपाधि दौडमा नौ अंकले पछाडि परेको छ । बायर्नका मुख्य प्रशिक्षक भिन्सेन्ट कम्पनीले हालै सेन्ट पाउलीविरुद्धको ५-० को जितमा प्रमुख खेलाडीलाई आराम दिएका थिए ।
जसले गर्दा टोली निर्णायक खेलअघि फ्रेस देखिन्छ हेरी केनको पुनरागमन उसका लागि सबैभन्दा सकारात्मक समाचार हो । सर्ज ग्नाब्री पनि घुँडाको समस्याबाट भुक्त भएका छन् । रियाल भने चोट र प्रतिबन्धका कारण समस्यामा छ । सबैभन्दा ठूलो धक्का मिडफिल्डर चुआमेनीको अनुपस्थिति हो ।
उनी यस खेलका लागि प्रतिबन्धमा छन् । किलियन एमबाप्पे पूर्ण रूपमा फिट भई सुरुआती टोलीमा रहने सम्भावना रियालका लागि सबैभन्दा राहतको विषय हो ।