
काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आसन्न विश्वकपमा इरान सहभागी हुने निश्चित भएको बताएका छन् । अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण फिफा विश्वकप २०२६ मा इरानको सहभागितालाई लियर शंका उत्पन्न भएको थियो ।
फेब्रुअरी अन्तिमदेखि सुरु भएको उक्त द्वन्द्वले इरानको विश्वकप सहभागितामाथि प्रश्न उठाएको थियो । इरानले मार्च २०२५ मा एसियाका उत्कृष्ट टोलीहरूमध्ये एकका रूपमा विश्वकपमा स्थान सुरक्षित गरेको थियो । यस वर्षको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । तर इरानले आफ्नो समूह चरणका सबै खेलहरू अमेरिकामै खेल्ने तालिको छ ।
मार्चको पहिलो साता इरानका सरकारी अधिकारीहरूले विभिन्न धारणा सार्वजनिक गरेका थिए । कतिपयले टोली विश्वकपमा नजाने, अमेरिकामा यात्रा गर्न नसक्ने वा खेलहरू मेक्सिकोमा सार्नुपर्ने बताएका थिए ।
तर मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले गत साता फिफाले उक्त प्रस्ताव अस्वीकार गरेको पुष्टि गरेकी थिइन् । फिफाले विश्वकप पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ ।
वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा इन्फान्टिनोले इरानी टोली विश्वकपमा सहभागी हुने बताउँदै त्यसबेलासम्म परिस्थिति शान्तिपूर्ण हुने आशा व्यक्त गरे । उनले खेलकुदलाई राजनीतिबाट अलग राख्नुपर्नेमा जोड दिएका थिए ।
इन्फान्टिनोले केही समयअघि टर्कीएमा प्रशिक्षण गरिरहेको इरानी टोलीसँग भेट गरेका थिए । उनले खेलाडीहरू विश्वकप खेल्न अत्यन्त इच्छुक भएको र उनीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनुपर्ने बताएका छन् ।
इरानी टोली जुन १० भित्र अमेरिकाको एरिजोनास्थित टुसनमा प्रशिक्षण शिविरका लागि पुग्ने तालिका रहेको छ । फिफा विश्वकपमा इरानले जुन १६ मा न्युजिल्यान्डसँग आफ्ना पहिलो खेल खेल्नेछ । त्यसपछि जुन २२ मा बेल्जियम र जुन २७ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । यदि इरान समूह चरण पार गर्न सफल भयो भने त्यसपछिका नकआउट चरणका खेलहरू पनि सम्भवतः अमेरिकामै हुनेछन् ।
यसबीच अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानी टोलीको सहभागिताबारे फरक-फरक अभिव्यक्ति दिएका छन् । उनले कहिले टोली आउँदा फरक नपर्ने बताएका छन् भने कहिले स्वागत गरिने र खेलाडीहरूलाई विशेष सम्मान दिइने बताएका छन् । साथै उनले खेलाडीहरूको सुरक्षाबारे चिन्ता पनि व्यक्त गरेका छन् ।