.png&w=1000&height=550)
झापा । मछिन्द्र फुटबल क्लब सातौँ झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सुरूआतदेखि नै मछिन्द्रले दबाब बनाएको थियो ।
मछिन्द्रका जोनाथन क्याटिलानाले ह्याट्रिक गरे । उनले खेलको चौथो, २५औँ र ५३औँ मिनेटमा गोल गरे । खेलको अन्त्यतिर रेजिन सुब्बाले थप एक गोल गरे । रेजिनले इन्जुरी समयमा काउन्टर अट्याकमार्फत गोल गरेका हुन् । आर्मीले पटक-पटक लय समात्ने प्रयास गरे पनि सफल हुन सकेन ।
जितसँगै अब मछिन्द्रले उपाधिका लागि नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।