
पोखरा । पापा इबु केबेको ह्याट्रिकको सहयोगमा प्लानिङ ब्वाईज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाईज युनाइटेडले फ्रेन्ड्सलाई ४-० ले हराएको हो । खेलको २४औँ मिनेटमा डी बक्सभित्र फ्रेन्ड्सका योगेश गुरूङले ह्यान्ड गरेपछि म्याच रेफ्री प्रज्वल क्षेत्रीले प्लानिङ ब्वाईजलाई पेनाल्टीको अवसर दिएका थिए ।
सोही पेनाल्टीको सदुपयोग गर्दै एलेक्स विलियनले टिमलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा केबेले आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बार पारे । त्यसपछि उनैले खेलको ५४ र ८१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । केबे म्यान अफ द म्याच पनि चुनिए ।
शनिबार पहिलो क्वार्टरफाइनल खेलअन्तर्गत आयोजक साहरा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । तीन विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार रूपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रूपैयाँ प्राप्त गर्नेछन् ।