टी-२० विश्वकपकाे सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

फाल्गुन २०, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपकाे सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । 

कोलकाताको ईडन गार्डनमा खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरू हुनेछ । अफगानिस्तानविरुद्ध दुई सुपर ओभरसम्म लम्बिएको खेलपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा खास चुनौतीको सामना गर्नु परेको छैन । समूह चरणमा न्युजिल्यान्डलाई सात विकेट र यूएईलाई छ विकेटले पराजित गरेको अफ्रिकी टोलीले सुपर  ८ को पहिलो खेलमै सह-आयोजक भारतलाई ७६ रनले हराउँदै आफ्नो दाबेदारी मजबुत बनाएको थियो । 

त्यसपछि वेस्ट इन्डिज र जिम्बाब्वेलाई सहजै हराएको दक्षिण अफ्रिका जारी प्रतियोगितामा अपराजित एक मात्र टोली हो । सन् २०२४ मा उपविजेतामा सीमित भएको पीडालाई उर्जामा बदलेको दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । 

दुई वर्षअघि सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गरेको अनुभव भए पनि २००९ र २०१४ को सेमिफाइनलमा भने निराश बनेको थियो । दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करम उत्कृष्ट लयमा छन् । उनले प्रतियोगितामा १ सय ७५ भन्दा माथिको स्ट्राइक रेटसहित २ सय ६८ रन जोडिसकेका छन् ।

न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा तय गर्न अन्तिमसम्म प्रतीक्षा गर्नुपर्‍यो । समूह चरणका चारमध्ये तीन खेल जिते पनि सुपर ८ मा पाकिस्तानविरूद्धको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि श्रीलंकामाथि ६१ रनको प्रभावशाली जित निकालेको टोली इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको थियो । 

त्यसपछि पाकिस्तान र श्रीलंकाबीचको नतिजामा भर परेको न्युजिल्यान्ड, पाकिस्तानको जितका बाबजुद रनरेटका कारण अन्तिम चारमा पुग्न सफल भएको हो । दक्षिण अफ्रिकाका प्रमुख बलर कागिसो रबाडा, मार्को यान्सन र केशव महाराजलाई जिम्बाब्वेविरूद्ध विश्राम दिइएको थियो । सेमिफाइनलमा उनीहरू पुनः प्लेइङ-११ मा फर्कने सम्भावना छ ।

न्युजिल्यान्डका ओपनर टिम सिर्फट र फिन एलेनमाथि ठूलो जिम्मेवारी रहनेछ। यी दुईले प्रतियोगितामा संयुक्त रूपमा ४ सय ५ रन बनाएका छन् । तेस्रो नम्बरमा राचिन रविन्द्रले ब्याटिङसँगै बायाँ हाते स्पिनमार्फत प्रभाव पार्न सक्छन् । उनले पछिल्ला दुई खेलमा सात विकेट लिएका छन् ।