पश्चिम एसिया तनाव : नेपालमा हुने लिग टू अन्तर्गतकाे त्रिकोणात्मक सिरिज स्थगित

फाल्गुन २०, २०८२ |खेल ब्युरो
पश्चिम एसिया तनाव : नेपालमा हुने लिग टू अन्तर्गतकाे त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं । पश्चिम एसियाको अस्थिर परिस्थितिका कारण आईसीसी विश्पकप लिग टू अन्तर्गत काठमाडौंमा आयोजना हुने तालिका रहेको त्रिकोणात्मक सिरिज स्थगित गरिएको छ ।

नेपाल त्रिकेट संघ- क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै आईसीसी विश्पकप लिग टू को त्रिकोणात्मक सिरिज स्थगित गरिएको जानकारी दिएको हो । फागुन २६ गतेदेखि सुरू हुने तालिका रहेको उक्त शृङ्खलाका सबै खेल अर्को सूचना नआएसम्मका लागि सारिएको क्यानले जनाएको छ । 

त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा ओमान र यूएईसँग खेल्ने तालिका थियो । पश्चिम एसिया क्षेत्रमा विकसित परिस्थितिले टोलीहरूको यात्रा, सुरक्षा व्यवस्थापन तथा अन्य प्राविधिक पक्षमा प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ । 

प्रतियोगिताको नयाँ मिति परिस्थितिलाई मध्यनजर गर्दै आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ । सिरिजका लागि नेपालले २० खेलाडीसहित बन्द प्रशिक्षण सुरू गरिसकेको थियो । लिग टू मा नेपाल २० खेलबाट १२ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ । 

१० अंकका साथ यूएई अन्तिम स्थानमा छ । चौथो स्थानमा रहेको ओमानको २४ अंक छ । पश्चिम एसिया तनावकै कारण विश्वभरका विभन्न खेल गतिविधि स्थगित र रद्द हुने क्रम समेत बढेको छ ।