टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको खेल निर्धारित तालिकामै हुने

भारतसँगको खेल नखेल्ने निर्णय फिर्ता
माघ २७, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको खेल निर्धारित तालिकामै हुने

काठमाडौं । पाकिस्तान सरकारले टी-२० विश्वकपमा भारतसँगको खेल नखेल्ने निर्णय फिर्ता लिएको छ। 

यससँगै पाकिस्तान र भारतबीच हुने बहुप्रतिक्षित खेल तोकिएकै मितिमा हुने भएको छ। पाकिस्तान सरकारले बहिष्कारसम्बन्धी आफ्नो निर्णय फिर्ता लिएपछि आइतबार हुने भनिएको उक्त खेल निर्धारित तालिकाअनुसार अघि बढ्ने निश्चित भएको हो।

श्रीलंकामा आयोजना हुने भारत र पाकिस्तानबीचको खेललाई लिएर विश्वभरका क्रिकेट समर्थकबीच संशय पैदा भएको थियो। यो खेल विश्व क्रिकेटको ठूलो र व्यावसायिक रूपमा आकर्षक प्रतिस्पर्धामध्ये एक मानिन्छ। स्लामाबादलेले गत साता भारतविरुद्ध नखेल्ने पाकिस्तान टोलीलाई सल्लाह दिएपछि खेल अन्योलमा परेको थियो। 

प्रधानमन्त्री शेहबाज शरीफले भारतले बंगलादेशको खेल स्थान परिवर्तनको अनुरोध अस्वीकार गरेपछि बंगलादेशलाई समर्थन जनाउन यस्तो निर्णय गरिएको बताएका थिए। त्यसपछि बंगलादेशले प्रतियोगिताबाट नै नाम फिर्ता लिएको थियो। यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र बंगलादेश क्रिकेट बोर्ड बीसीबीसँगको एक सातासम्म चलेको छलफल र दबाबपछि पाकिस्तान सरकारले अन्ततः टोलीलाई खेल्न निर्देशन दिएको हो। 

सोमबार साँझ जारी विज्ञप्तिमा सरकारले क्रिकेटको भावना जोगाउन र विश्व खेलको निरन्तरता कायम राख्न यस्तो निर्णय लिइएको जनाएको छ। आईसीसी र पीसीबीबीच सकारात्मक संवाद भएको उल्लेख गर्दै सबै सदस्य राष्ट्रले प्रतियोगितामा सहभागितासम्बन्धी प्रतिबद्धता पूरा गर्न सहमत भएको जनाएको छ। 

आईसीसीले जारी विश्वकपलाई सफल बनाउन सबै पक्ष एकजुट, प्रतिबद्ध र सहयोगी हुनुपर्नेमा जोड दिएको छ।